मेरो जीवनमा आएको परिवर्तन.....
मेरो जीवनमा आएको परिवर्तन.....
-कुमारी तामाङ (अध्यक्ष) भैरवि सामुदायिक सस्था, भूमेस्थान
म भुमेस्थान गाविसको वडा.नं २ बालुवार्खकमा बस्छु । आज भन्दा डेढ बर्ष अगाडि यस बस्तीमा सामाजिक परिचालक गोमा तामाङ आएर समुहको आवश्यकता र महत्वको वारेमा जानकारी दिएपछि हामी समुहमा आवद्घ भयौं । यस भन्दा पहिला हामिलाई समूहको बारेमा केही पनि थाहा थिएन र कसैले पनि यस स्थानमा आएर काम गरेका थिएनन् । २०६७ साल वैशाखमा हामिले समुह बनाउने निर्णय गरेपछि असारबाट नियमित मासिक रुपमा बैठक बस्दै आईरहेका छौं । हाम्रो समुहको नाम भैरवि सामुदायिक संस्था हो । म यस सामुदायिक संस्थामा अध्यक्षको रुपमा काम गरिरहेकी छु । प्रयास नेपाल र गरिवि निवारण कोषको साझेदारीमा संचालित यस गरिवि निवारण कार्यक्रम बालुवार्खकमा पनि संचालन गर्नु भएकोमा म र मेरो सँस्थाको तर्फबाट धन्यबाद दिन चाहन्छु । प्रयास नेपालले क्षमता विकास र लेखा व्यवस्थापन तालिम दिएपछि म मा समुहमा बसेर काम गर्न सक्ने क्षमताको विकास भएको छ । समुहमा बस्नु भन्दा पहिले मलाई २,४ जनाको अगाडी बोल्न पनि डर लाग्थ्यो। मैले १ कक्षा पनि पढेको छैन अरुले पढेको देखेर सुनेर नै मैले सामान्य अक्षर लेख्न र पढ्न सक्ने भएकोमा समूहमा बसेपछि अझै राम्रो संग लेख्न सक्ने भएको छु । सुरुमा समुह गठन गर्दा कसरी लेख्ने होला बैठक पुस्तिका भनेर डर लाग्दथ्यो । तर सामाजिक परिचालक गोमा मिसकोे सहयोगले गर्दा मैले आज आफै मासिक बैठकमा प्रस्ताव तथा निर्णय माथि छलफल गरेर बैठक पुस्तिकामा लेख्न सक्ने भएको छु । बचत तथा ऋण परिचालनको खातामा पनि हिसाब राख्न सक्ने भएको छु । मलाई यताउति कार्यक्रममा हिड्न एकदमै रमाइलो लाग्ने गर्दछ । कहिले तालिममा जान पाएको छु त कहिले बैठकमा । म एकदमै खुसि छु समूहमा बसेर काम गर्न पाउँदा । पहिले घरधन्दा बाहेक केहि पनि थाहा थिएन। तर अहिले कहिले कता कहिले कता जाने गरेको छु। यसैले कुरा पनि धेरै बुझ्न थालेको छु। कार्यक्रममा जान र आफ्नो कुरा राख्न पाउँदा खुशि लाग्छ मलाई। अहिले पो थाहा पाउँदैछु, घरधन्दा बाहेक बाहिर पनि संसार हुने रहेछ। हामी कतिपय महिलाहरुलाई बाहिर जान रोकटोक गरिन्छ भने केहि थाहा नभएर आफै पछि परेका रहेछौं। अहिले म आफै बैठक राख्न सक्ने, हिसाब किताव राख्ने, कार्यक्रममा कुरा राख्न सक्ने, बैकमा गएर कारोवार गर्न सक्ने भएकी छु। यति मात्र कहाँ हो र आफ्नो समुहले महिना भरि के के ग–यो त्यसको प्रतिवेदन लेख्न पनि जानेको छु। म १ कक्षा पनि नपढेको मान्छेलाई समुहमा ल्याएर सबै कुरा आफै गर्न सक्ने बनाउनु भएको छ। यसमा प्रयास नेपाल र गरिबी निवारण कोषलाई मेरो हृदय देखिको धन्यवाद।