बाल केन्द्रित सामुदायिक विकास कार्यक्रमःपृष्ठभुमिः
घरपरिवार, विद्यालय तथा समुदायमा बालसुलभ व्यवहार नहुनु, बालबालिका प्रति चासो नहुनु, बालबालिकाहरु घर छाडेर अन्यत्र जाने, विद्यालयमा नियमित नजाने, बीचैमा कक्षा छाड्ने, बाल बिबाह, घरेलु हिंसा, विभिन्न प्रकारका विभेदहरु, विद्यालयमा भौतिक साधन श्रोत कमि, गरिवीले बालबालिकाको जीवन अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको छ । यसैले बालबालिकाको पूर्ण अधिकार तथा सुरक्षाको व्यवस्था भएको समुदाय निमार्ण गर्न जहाँ कुनै पनि प्रकारको भेदभाव विना र डर विना बालबालिकाहरुले हरेक अवसर प्राप्त गर्दै उनीहरुको विकासको अवस्था सिर्जना गर्ने लक्ष्यका साथ धादिङ जिल्लाको पिडा र महादेवस्थान गाविसमा युनाइटेड मिसन टु नेपालसंगको साझेदारीतमा बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम गत २०६७ पौष देखी संचालनमा रहेको छ ।
२. कार्यक्षेत्र
पिडा गाविस सबै वडाहरु
महादेवस्थान गाविस सबै वडाहरु
३.लक्षित समुदाय
महिला, बालबालिका र विद्यालय
समग्रमा बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि बाल केन्द्रित सामुदायिक विकास कार्यक्रमले विशेष गरेर ३ क्षेत्र मार्फत कार्य गर्ने गर्दछ ति हुनः
क० विद्यालयः
विद्यालयहरुको हालको विद्यमान अवस्थालाई परिवर्तन गरि बालबालिकालाई विद्यालयमा पढौं पढौं लाग्ने वातावरण बनाउनको लागि विद्यालयको समस्या पहिचान, विभिन्न तालिम गोष्टीको माध्यमद्धारा विद्यालय व्यवस्थापन समिती तथा शिक्षकहरुको क्षमता विकास, आवश्यक शैक्षिक सामग्री प्रदान गरिन्छ । सारंशमा भन्नुपर्दा बालमैत्री विद्यालय तथा बाल केन्द्रित सिकाई प्रक्रियामा आधारित शिक्षण पद्धतिको माध्यमबाट शैक्षिक गुणस्तर बृद्धि गर्ने र विद्यालयलाई आकर्षणको केन्द्र विन्दु बनाउनको लागि विभिन्न क्रियाकलापहरु गरिन्छ ।
ख० आत्मनिर्भर महिला समुह गठन तथा परिचालनः
घरपरिवारमा, समुदायमा, विद्यालयमा बालबालिकाहरु अहिले जुन अवस्थामा रहेका छन् त्यो भन्दा राम्रो वातावरण बनाउन र बालबालिका प्रतिको परम्परागत दृष्टीकोणमा परिवर्तन गर्दै हेरचाहपुर्ण वातावरण वनाउनको लागि विशेष गरेर महिला समुहको माध्यमबाट समुदायको समग्र विकास गर्दै बालबालिकाहरुको जीवनमा परिवर्तन ल्याउनको लागि महिला समुह अर्को महत्वपुर्ण पक्ष हो । समुदायमा रहेका महिला समुहमा संगठित गराई नियमित रुपमा परिचालन, बचत संकलन र विभिन्न तालिमहरु, आयआर्जन सहयोग, खानेपानी, साना सिंचाई, जन्मदर्ता संबन्धी सचेतना, जन्मदर्ता अभियान, खोप तथा पोषण, स्वास्थ्य सरसफाई संबन्धी सचेतना गरि महिला समुहलाई संगठित बनाउने र उनीहरुको शसक्तिकरण गर्दै महिला समुहलाई बालबालिकाको संरक्षणको साथै समग्र समुदायको विकासको सवालमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सहयोग गरिन्छ । नियमित रुपमा बचत संकलनको माध्यमबाट गा।वि।स स्तरमा एउटा महिला सहकारीको परिकल्पना गरिएको छ । जुन सहकारी संबन्धित गा।वि।सका महिलाहरुले नै व्यवस्थापन तथा संचालन गर्न सक्ने अवस्थाको निर्माण गरिने छ ।
ग० बाल क्लवः
यस परियोजनाको अर्को महत्वपुर्ण पाटो हो बाल क्लव । बाल क्लवको गठन गरि उनीहरुलाई बाल अधिकार, बाल संरक्षण प्रति सचेत बनाउँदै उनीहरुलाई उनीहरुको अधिकार प्राप्तीको लागि शसक्त पार्ने, उनीहरुलाई विद्यालय तथा परिवार प्रति जिम्मेवार बनाउँदै समग्रमा विद्यालयको विकासको लागि सहयोगी अंगको रुपमा विकास गरिन्छ । विद्यालय सरसफाई, विद्यालयको निति नियमको पालना गर्न गराउन बालक्लवको महत्वपुर्ण भुमिका रहन्छ । त्यसको लागि बालक्लवलाई बालअधिकार, बाल संरक्षण संबन्धी तालिम, नेतृत्वविकास संबन्धी तालिम, भिक्ते पत्रिका प्रकाशनको लागि पत्रकारीता संबन्धी तालिम आदी प्रदान गरिन्छ भने, खेलकुदका सामग्री, तथा अन्य क्षेत्रको भ्रमण गराइन्छ । विद्यालयमा अतिरिक्त क्रियाकलापहरु संचालन गर्न, विद्यालयको विकास तथा सुशासनमा विद्यालयलाई सहयोग गर्न, बालमैत्री विद्यालय वातावरण निर्माण गर्न महत्वपुर्ण भुमिका रहनेछ ।
४. मुख्य उपलब्धीहरु
- पहिले बालबालिका र बाल अधिकारका विषयमा थाहा नपाएका बालबालिकाहरु हाल बालक्लवमा आवद्ध भै बालबालिकासंग संबन्धित कुनै कुरा भएमा सिधै विद्यालय प्रशासनसंग कुरा गर्ने, विद्यालय सफा पार्न दैनिक सरसफाई गर्ने, लाइनव्यवस्थापन, क्वीज भन्ने, अतिरिक्त क्रियाकलाप संचालन, विद्यालय नआएका बालबालिकालाई विद्यालयमा ल्याउने, शिक्षकहरुको शैक्षिक गतिविधीहरुको दैनिक मुल्याँकन गर्न थालेका छन्।
- समुदायका महिला समुहका सदस्यहरु आफ्ना बालबालिकाको बालबालिकाको राम्ररी हेरचाह गर्ने, नियमित विद्यालय पठाउने, विद्यालयमा गएर उनीहरुको पढाईका बारेमा बुझ्ने, विद्यालय सफा गर्ने, बालबालिकाको जन्मदर्ता गर्ने, खोप लगाउने कार्यमा बृद्धि भएको छ भने समुदायमा जुवातास खेल्न रोक लगाउने, जाँड रक्सी खाएर होहल्ला गर्नेलाई कारबाहि गर्ने कुराको थालनी भएको छ। उनीहरुले बचत गर्ने र आवश्यक पर्ने रिण समुहबाटै सस्तो व्याजमा लिने हुनाले उनीहरुमो परिवारको आवश्यकता पुरा गर्न थालेको र महिलाकै कारण रिण पाईने हुनाले तथा समुदायमा जाने हरेक सहयोगहरु महिला समुह मार्फत मात्र जाने हुनाले पुरुषहरुले महिलालाई हेर्ने दृष्टिकोण तथा गर्ने व्यवहारमा केहि भएपनि परिवर्तन भएको छ।
- विद्यालयमा बालमैत्री वातावरणमा पठनपाठन गर्ने कार्यको शुरुवात भएको छ। विद्यालय बालबालिकाको लागि आकर्षणको केन्द्रविन्दु हुन थालेको छ भने आफ्नो विद्यालयलाई राम्रो बनाउन सबै विद्यालयहरुमा प्रतिष्पर्धाको भावनाको विकास भएको छ ।यसले गर्दा बालबालिकाहरु कक्षा कोठामा रमाएर पढ्ने वातावरणको शुरुवात भएको हुनाले कक्षा १ मा बालबालिकाको टिकाउ दर बढेको छ ।